कुनै दुर्घटना, प्राकृतिक विपत्ति, रोगव्याधि वा अन्य आकस्मिक घटनाले जीवनको दिशा नै बदल्न सक्छ । यस्ता अप्रत्याशित जोखिमबाट आर्थिक सुरक्षाको आधार तयार गर्ने माध्यम हो– बिमा । तर बिमाको महत्व र आवश्यकता अझै पनि समाजका धेरै तहसम्म स्पष्ट रूपमा पुग्न सकेको छैन । यही यथार्थलाई मध्यनजर गर्दै झापाको दमकमा बिमा सचेतना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल बिमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, बिमा कम्पनीका प्रतिनिधि, उद्योगी–व्यवसायी, वित्तीय क्षेत्रका सरोकारवाला तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले बिमा क्षेत्रसँग सम्बन्धित अनुभव, समस्या, जिज्ञासा र सुझाव खुलेर राखेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण सहभागीहरूको प्रत्यक्ष संवाद थियो । विशेषगरी बिमा दाबी प्रक्रिया, बिमा पोलिसीका सर्तहरू, सेवाग्राहीले भोग्नुपरेका कठिनाइ तथा बिमाप्रतिको जनस्तरमा विद्यमान भ्रमका विषयमा व्यापक छलफल भएको थियो । कतिपय सहभागीहरूले बिमा सम्बन्धी प्रक्रिया अझै जटिल र झन्झटिलो रहेको गुनासो गरे । आवश्यक कागजात, दाबी भुक्तानीका चरण तथा समयसीमाबारे पर्याप्त जानकारी नहुँदा सेवाग्राही समस्यामा पर्ने गरेको उनीहरूको अनुभव थियो ।
दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष भगवान बस्नेतले बिमा क्षेत्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सेवामुखी व्यवहार र सहज प्रक्रियामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । सञ्चारकर्मी डिकेश लामाले बिमा साक्षरता विस्तारमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बिमालाई नागरिकको आर्थिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण संयन्त्रका रूपमा व्याख्या गर्नुभयो । उहाँले प्राकृतिक विपत्ति, दुर्घटना तथा रोगव्याधिबाट हुने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न बिमाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । साथै बिमा सम्बन्धी जानकारी र पहुँच गाउँ–टोलसम्म विस्तार गर्न सम्बन्धित निकायले थप प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
“बिमालाई केवल नाफा वा लगानीको दृष्टिले मात्र होइन, सुरक्षाको सेवाका रूपमा बुझ्न आवश्यक छ,” नगर प्रमुख थापाको भनाइ थियो ।
कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै नेपाल बिमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले बिमा क्षेत्रलाई थप पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउन प्राधिकरण निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले बिमा सम्बन्धी नियम, प्रक्रिया र सेवाका बारेमा जनस्तरमा पर्याप्त जानकारी पुर्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
उहाँका अनुसार बिमा केवल बचत वा लगानीको माध्यम मात्र होइन, जोखिम व्यवस्थापनको प्रभावकारी उपाय पनि हो । नागरिकले आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार उपयुक्त बिमा योजना छनोट गर्नुपर्ने सुझाव दिँदै उहाँले बिमा दाबी प्रक्रियालाई थप सहज, छिटो र प्रविधिमैत्री बनाउने दिशामा काम भइरहेको जानकारी दिनुभयो ।
