भारत पश्चिम बंगालका पूर्वविधायक तथा तृणमूल कांग्रेसका नेता जहाँगिर खान झापाको काँकरभिट्टाबाट पक्राउ परेका छन् । उनलाई हिजो पश्चिम बंगाल प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
उनलाई भारतको सीमानजिकै काँकरभिट्टाबाट पक्राउ गरिएको जनाइएको छ । उनलाई सीमापारि नेपालतर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत महिना फाल्टा पुनःनिर्वाचनबाट फिर्ता लिने तृणमूल कांग्रेसका उम्मेदवार जहाँगिर खानलाई विशेष कार्यदल (एसटिएफ) ले नेपाल सीमा नजिकैबाट पक्राउ गरेको जनाइएको छ । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फालता पुलिस स्टेसनमा खानका विरुद्ध सात वटा एफआईआर दर्ता भएका थिए।
मिडिया रिपोर्टहरूमा जहाँगिरका समर्थकहरूले महिलाहरूलाई सामूहिक बलात्कारको धम्की दिएको दाबी गरिएको छ, तर बंगाल पुलिसका तर्फबाट अहिलेसम्म यस विषयमा कुनै आधिकारिक बयान जारी गरिएको छैन।
जहाँगिर खान सीमामा पक्राउ परेको समाचार भारतभरि सनसनी रुपमा फैलिरहँदा झापा प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ । भारतीय प्रहरी नेपाल आएर पक्राउ गर्दासमेत नेपाल प्रहरीले पत्तै पाएन ।
भारतीय प्रहरीले काँकरभिट्टाको चन्दा होटलबाट उनलाई पक्राउ गरेको जनाए पनि त्यसबारे आधिकारिक जानकारी नरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी निशेष चापागाईंले बताए ।
