आफूलाई नेपाल प्रहरीको ब्युरोमा कार्यरत प्रहरी कर्मचारी भएको धम्क्याउँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ।
मेचीनगर ६ साठीविगाहबाट पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नं ६ साठीविगाह बस्ने ३३ वर्षीय प्रल्हाद कार्की र मेचीनगर ६ पालियाखोला बस्ने २३ वर्षीय विशाल बास्कोटा रहेका छन् ।
पक्राउ परेका उनीहरूले आफूहरू नेपाल प्रहरीको ब्युरोबाट आएको भन्दै सर्वसाधारणलाई डरत्रास देखाई नगद तथा विभिन्न सामान लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले विशेष अभियान सञ्चालन गरी उनीहरूलाई हिजो सांझ साढे ५ बजेतिर पक्राउ गरेको हो ।
हिरासतमा राख्ने क्रममा उनीहरूको साथबाट प्लाष्टिकसहित एक ग्राम नौ सय पचास मिलिग्राम (प्लाष्टिकबाहेक एक ग्राम नौ सय दश मिलिग्राम ) ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि ठगी तथा लुटपाटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
