झापामा लागूऔषधसहित एकैदिन तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दमकका दुई युवा र बिर्ताबजारकी एक युवती रहेका छन् ।
हिजो साँझ ५;३० बजे झापा गाउँपालिका वडा न.५ सिलमडाँगीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०२–०४२ प ३२४५ नं.को मोटरसाइकलका चालक दमक वडा नं.६ बस्ने १९ वर्षीय बिमल कार्कीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकले पोका पारी ल्याएको प्लाष्टिकसहित १६ ग्राम र प्लाष्टिकबाहेक १४ ग्राम ०४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
सोही मोटरसाइकलमा पछाडि सवार दमक वडा न.०१ बस्ने २० वर्षीय सन्देश कुमालसमेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
त्यस्तै हिजो दिउँसो ४ बजे भद्रपुर वडा न.५ नयाँ बजारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री बिर्तामोड ३ बिर्ताबजार बस्ने २२ वर्षीया पुष्पा परियारलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
शंका लागेर चेकजाँच गर्दा उनले पेटभित्र प्लाष्टिकको पोको पारी लुकाई छिपाई राखेको प्लाष्टिकबाहेक २ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पनि थप अनुसन्धानको लागि जिप्रका झापा ल्याइएको छ ।
