पूर्व–पश्चिम राजमार्ग अन्तर्गत एसियन हाईवे विस्तारको काम जारी रहँदा झापाको दमक नगरपालिका–६ स्थित दमक बसपार्क छिर्ने सडक अहिले अत्यधिक सवारी चापको केन्द्र बनेको छ । तर दैनिक सयौं सवारीसाधन गुड्ने उक्त सडकको अवस्था भने निकै दयनीय बनेको छ । सडकको पिच उक्किएर भित्रका फलामे रड बाहिर निस्किएका छन् भने विभिन्न स्थानमा खाल्डाखुल्डी समेत परेका छन् । यसले दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीयवासी, व्यवसायी र चालकहरू चिन्तित बनेका छन् ।
एसियन हाईवे विस्तारका क्रममा पुरानो सडकको केही भाग बन्द गरिएपछि दमक बसपार्क प्रबेश गर्नेे यही सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ । साना तथा ठूला सार्वजनिक सवारी, मालवाहक ट्रक, मोटरसाइकल तथा निजी सवारीसाधन दैनिक यही बाटो हुँदै ओहोरदोहोर गरिरहेका छन् । तर सडकको जीर्ण अवस्थाका कारण यात्रु तथा चालकले सास्ती खेप्नुपरेको छ ।
स्थानीयवासी व्यवासायीहरुका अनुसार केही महिनाअघिसम्म सामान्य अवस्थामा रहेको सडक अहिले अत्यधिक भारका कारण क्षतिग्रस्त बनेको हो । सडकको सतह फुटेर फलामे रड बाहिर निस्किँदा मोटरसाइकल चालकहरू विशेष जोखिममा परेका छन् । रातिको समयमा सडकको अवस्था सहजै देख्न नसकिँदा दुर्घटनाको सम्भावना अझ बढ्ने गरेको स्थानीय बताउँछन् ।
दमक बसपार्क क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी भन्छन्, “दिनहुँ हजारौं मानिस यही बाटो भएर हिँड्छन् । सडकको बीचभागमै रड निस्किएको छ । कुनै दिन ठूलो दुर्घटना भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ?”
सडक प्रयोग गर्ने चालकहरूको अनुभव पनि उस्तै छ । सार्वजनिक यातायातका चालकहरूका अनुसार सडक बिग्रिएका कारण सवारीसाधनको मर्मत खर्च समेत बढ्दै गएको छ । खाल्डाखुल्डी र निस्किएका रडका कारण टायर पञ्चर हुने, सस्पेन्सनमा समस्या आउने तथा दुर्घटनाको जोखिम बढ्ने गरेको उनीहरूको गुनासो छ ।
विशेषगरी वर्षायाम नजिकिँदै जाँदा समस्या थप जटिल बन्ने देखिएको छ । पानी परेपछि खाल्डाखुल्डीमा पानी जम्ने, सडकको वास्तविक अवस्था नदेखिने तथा मोटरसाइकल चालक चिप्लिने जोखिम बढ्ने विज्ञहरू बताउँछन् । अहिले देखिएको सामान्य क्षति समयमै मर्मत नगरिए आगामी दिनमा सडक पूर्ण रूपमा भत्किने सम्भावना समेत रहेको सरोकारवालाहरूको भनाइ छ ।
