झापामा विगतमा प्रशस्त मात्रामा रहेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभावमा क्रमशः अतिक्रमणको चपेटामा परेको पाइएको छ। भूमि प्रशासन कार्यालय झापाको पुरानो अभिलेखले जिल्लाका विभिन्न साविक गाउँ विकास समिति तथा नगरपालिकामा ठूलो क्षेत्रफलमा सरकारी तथा सार्वजनिक जग्गा रहेको देखाए पनि तीमध्ये धेरै जग्गा हाल अतिक्रमित भएको सरोकारवालाहरूको भनाइ छ।
कार्यालयको २०६४ सालको अभिलेखअनुसार झापाका विभिन्न स्थानीय तहमा हजारौं बिघा तथा लाखौं वर्गमिटर सरकारी र सार्वजनिक जग्गा मौज्दात रहेको थियो। तर वर्षौंदेखि प्रभावकारी संरक्षण, अनुगमन र व्यवस्थापन हुन नसक्दा ती जग्गामा व्यक्तिगतरूपमा कब्जा गर्ने, घरटहरा निर्माण गर्ने तथा खेतीपाती गर्ने क्रम बढेको देखिएको छ।
सरकारी अभिलेखअनुसार कतिपय स्थानमा जालझेल तथा कागजी प्रक्रियाको दुरुपयोग गरी सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गा निजी नाममा दर्ता गरिएका घटनासमेत भेटिएका छन्। यसले सरकारी सम्पत्तिको संरक्षण र व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ।
भूमि प्रशासनसँग सम्बन्धित स्रोतका अनुसार विगतमा छुट्टै अभिलेख कायम गरिएका सरकारी तथा सार्वजनिक जग्गाको वास्तविक अवस्था अध्ययन गरी अद्यावधिक विवरण तयार गर्ने काम आवश्यक देखिएको छ। स्थानीय तहको पुनःसंरचनापछि साविक गाविसहरू नगरपालिका तथा गाउँपालिकामा समायोजन भइसकेकाले धेरै स्थानको यकिन अवस्था समेत पुनः नापजाँच गर्नुपर्ने अवस्था रहेको बताइन्छ।
जिल्लाका विभिन्न क्षेत्रमा सडक विस्तार, बजार विकास र बसोबासको चाप बढेसँगै सार्वजनिक प्रयोजनका लागि छुट्याइएका जग्गामाथि अतिक्रमण बढेको स्थानीयवासी बताउँछन्। कतिपय स्थानमा खोल्सा, कुलो, बाटो, चौतारा तथा सार्वजनिक उपयोगका जग्गासमेत निजी प्रयोगमा ल्याइएको गुनासो छ।
सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि अभिलेख अद्यावधिक गर्ने, अतिक्रमित जग्गा पहिचान गर्ने र कानुनी प्रक्रिया अघि बढाउने विषयमा सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने माग स्थानीय स्तरबाट उठ्दै आएको छ।
अभिलेखमा रहेका सरकारी तथा सार्वजनिक जग्गा
सुरुङ्गा गाविस — २१३१–५–१९
शान्तिनगर गाविस — ९०६–१२–१५
कुमरखोद गाविस — ४,९२,८११ वर्गमिटर
केचना गाविस — १२,८५,९९५ वर्गमिटर
घेराबारी गाविस — ३६,०७,४८५ वर्गमिटर
पाठामारी गाविस — ६३,८५,४३७ वर्गमिटर
हल्दिवारी गाविस — ३८३–१६–१०
अनारमनी गाविस — ५७–१०–१८
नकलबन्दा गाविस — ५७०–१९–१९
शनिश्चरे गाविस — ३–७–१०
चन्द्रगढी गाविस — ५९१–५–४
पथरिया गाविस — ४७,८९,१८० वर्गमिटर
टाघनडुब्बा गाविस — ४४०–१४–१८
बनियानी गाविस — ४,५५,७४७ वर्गमिटर
महेशपुर गाविस — १०२९–१५–०
घैलाडुब्बा गाविस — ६७०–३–७
बालुवाडी गाविस — १०,३०,८८० वर्गमिटर
गरामनी गाविस — ३७७–११–१२
चकचकी गाविस — १७३१–११–५
शरणामती गाविस — ११४१–१४–११
पाराखोपी गाविस — ७५७–११–०
धाइजन गाविस — १७५–७–४
ज्यामिरगढी गाविस — ११३८–१९–१९
बाहुनडाँगी गाविस — २३४६–१६–१८
धुलाबारी गाविस — ६५८–९–५
भद्रपुर नगरपालिका — ६८–१८–७
डाँगीबारी गाविस — ६८५–१६–०
दुहागढी गाविस — १५३–९–१५
चारपाने गाविस — २२८–३–२
(स्रोतः भूमि प्रशासन कार्यालय झापाको २०६४ सालको अभिलेख)
