झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
आज अपराह्न भएको दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलको पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार मेचीनगर–९ स्थित होलिबेल स्कुलको मे १ क ३९१ नम्बरको स्कुल बस गोमनचरीबाट धुलाबारीतर्फ भित्री सडक हुँदै जाँदै थियो। सोही समयमा इँटाभट्टाबाट गोमनचरीतर्फ आउँदै गरेको मे ९ प ९९०७ नम्बरको मोटरसाइकलसँग मेचीनगर–७ स्थित इँटाभट्टा क्षेत्रको सिमेन्ट फ्याक्ट्री नजिक बस ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर लगिएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै जना गम्भीर घाइते भए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।
