झापाका तीन नगरपालिकाको लगानीमा स्थापना गरिएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर व्यवस्थापन परियोजना पुनः सञ्चालनको तयारीमा पुगेको छ । लामो समयदेखि बन्द रहेको फोहोर प्रशोधन केन्द्रका उपकरण मर्मत अन्तिम चरणमा पुगेसँगै सञ्चालनको प्रक्रिया अघि बढाइएको हो । कनकाई नगरपालिका–२ सुकेडाँगीस्थित प्लान्ट व्यवस्थापन पक्षले एक–दुई साताभित्र फोहोर संकलन सुरु गर्ने लक्ष्य राखेको जनाएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका डाइजेस्टर, सेग्रिगेटरलगायत उपकरणको मर्मत कार्य लगभग सम्पन्न भइसकेको र सम्बन्धित स्थानीय तहबाट कार्यादेश प्राप्त हुनेबित्तिकै सञ्चालन सुरु गरिने तयारी रहेको कम्पनी स्रोतले जनाएको छ । प्रारम्भिक चरणमा कनकाई नगरपालिकाको फोहोर संकलन गरिने र त्यसपछि क्रमशः बिर्तामोड तथा अर्जुनधारा नगरपालिकाको फोहोर व्यवस्थापन गरिने योजना छ। प्लान्टले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउने प्रणालीलाई प्राथमिकता दिने जनाएको छ । फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाहरूले भोग्दै आएको फोहोर विसर्जनस्थलको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ। व्यवस्थापन पक्षका अनुसार प्लान्ट पुनः सञ्चालनका लागि आवश्यक मर्मत तथा बैंकको ब्याज भुक्तानी गर्न निजी क्षेत्रबाट ऋणसमेत जुटाइएको छ । सञ्चालनबाट आम्दानी हुन थालेपछि बाँकी आर्थिक दायित्व क्रमशः चुक्ता गर्ने योजना रहेको बताइएको छ । फोहोरलाई प्रशोधन गरी बायोग्यास र कम्पोस्ट मल उत्पादन गर्ने उद्देश्यसहित स्थापना गरिएको यो परियोजना २०७६ वैशाख ७ गते उद्घाटन गरिएको थियो । तर व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विभिन्न समस्याका कारण अपेक्षित रूपमा सञ्चालन हुन सकेको थिएन । परियोजनामा बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले संयुक्त रूपमा सात करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्। यसबाहेक ६५० भन्दा बढी सर्वसाधारणको लगानी रहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत विश्व बैंकको सहयोगमा करिब पाँच करोड रुपैयाँ लगानी भएको परियोजनाले थप आर्थिक सहयोगको प्रतिबद्धता पनि प्राप्त गरेको छ । करिब ५८ कठ्ठा क्षेत्रफलमा फैलिएको यो प्लान्ट पुनः सञ्चालनमा आए झापामा दीर्घकालीन फोहोर व्यवस्थापनको नमुना परियोजनाका रूपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ ।
झापामा वर्षौंदेखि थन्किएको फोहोर प्रशोधन केन्द्र पुनः सञ्चालनको तयारीमा
झापाका तीन नगरपालिकाको लगानीमा स्थापना गरिएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर व्यवस्थापन परियोजना पुनः सञ्चालनको तयारीमा पुगेको छ । लामो समयदेखि बन्द रहेको फोहोर प्रशोधन केन्द्रका उपकरण मर्मत अन्तिम चरणमा पुगेसँगै सञ्चालनको ...
1 min read
Share
