झापा : बिर्तामोड–२ चैतुवारीकी ४२ वर्षीया दिनो राजवंशीको बलात्कारपछि हत्या भएको पाँच वर्ष पुग्न लाग्दा पनि घटनाका दोषी सार्वजनिक हुन सकेका छैनन्।
यस अवधिमा इलाका प्रहरी कार्यालय बिर्तामोडको नेतृत्व सम्हालेका छ जना डीएसपी फेरिए, तर अनुसन्धान भने अघि बढ्न सकेको छैन ।
केही समय अघि मात्रै इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले पत्रकार सम्मेलनमा आफूहरुलाई काम दिन भनेका थिए । तर, उनले यो विषयमा अनुसन्धान नै शुरु नगरेको बताइएको छ ।
२०७७ साल यता प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, सन्तोष आचार्य, रुगमबहादुर कुँवर, सुरज कार्की, प्रकाश विष्ट र विजय श्रेष्ठले बिर्तामोड प्रहरीको नेतृत्व गरेका छन् ।
अपराध अनुसन्धानमा सक्रिय र सफल मानिएका केही अधिकारीले स्थानीयस्तरमा सम्मान र प्रशंसा पाए। तर दिनो राजवंशी हत्याकाण्ड भने उनीहरूको कार्यकालमा पनि रहस्यमै सीमित रह्यो।
स्थानीयका अनुसार प्रहरी नेतृत्व फेरिए पनि पीडित परिवारको पीडा र न्यायको प्रतीक्षा भने उस्तै छ । पाँच वर्ष बितिसक्दा पनि हत्यामा संलग्न व्यक्ति को हो भन्ने प्रश्नको उत्तर नआउँदा अनुसन्धान प्रणालीकै प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।
२०७७ पुस ४ गते साँझ दिनो राजवंशी आफ्ना श्रीमान्लाई खाना पु¥याउन घरबाट निस्किएकी थिइन्। परिवारका अनुसार उनी साँझ करिब ७ बजे घरबाट हिँडेकी थिइन्। तर त्यसपछि उनी घर फर्किनन्।
भोलिपल्ट बिहान स्थानीयले चैतुवारीस्थित मोहन मगरको खेतमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा शव उतानो अवस्थामा थियो। नाक र मुखबाट सामान्य रक्तश्राव भएको देखिएको थियो भने शवको छेउमै खाना बोकेको पोको र टर्चलाइट भेटिएको थियो।
घटनाले त्यसबेला बिर्तामोड क्षेत्रलाई स्तब्ध बनाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा संघीय प्रहरी इकाइ कार्यालय धरानबाट तालिमप्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान थालिएको थियो।
त्यसबेला इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रहेका डीएसपी मुकुन्द रिजालको नेतृत्वमा अनुसन्धान अघि बढ्यो। प्रारम्भिक चरणमा परिवारभित्रकै कोणबाट अनुसन्धान गरिएको थियो। मृतकका श्रीमान् वीरबहादुर राजवंशीमाथि पनि सोधपुछ र अनुसन्धान भएको थियो। तर घटनासँग प्रत्यक्ष सम्बन्ध जोड्ने प्रमाण फेला परेन।
अनुसन्धान अधुरै छाडेर रिजाल सरुवा भए। त्यसपछि आएका डीएसपी सन्तोष आचार्यको कार्यकालमा पनि घटनाले उल्लेखनीय प्रगति गर्न सकेन।
डीएसपी रुगमबहादुर कुँवरको कार्यकालमा भने अनुसन्धानले नयाँ मोड लियो। यसअघि सामान्य हत्या भनेर हेरिएको घटनामा बलात्कारपछि हत्या भएको तथ्य पुष्टि गरियो। त्यसपछि केही शंकास्पद व्यक्तिमाथि निगरानी र सोधपुछ भए पनि अनुसन्धानलाई कानुनी निष्कर्षमा पु¥याउने प्रमाण भने जुट्न सकेन।
त्यसपछि आएका सुरज कार्की र प्रकाश विष्टको कार्यकालमा यो मुद्दा लगभग ओझेलमा परेको स्थानीयको आरोप छ। पछिल्लो समय डीएसपी विजय श्रेष्ठले अनुसन्धानलाई पुनर्जीवित गर्ने संकेत दिए पनि उनको कार्यकाल सकिन लाग्दा समेत घटनामा नयाँ उपलब्धि देखिएको छैन।
‘न्याय अझै प्रतीक्षामै’
दिनो राजवंशी हत्या प्रकरणलाई धेरै स्थानीयले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणसँग तुलना गर्न थालेका छन्। अनुसन्धान लामो समयसम्म निष्कर्षमा नपुग्दा प्रहरीमाथिको जनविश्वास कमजोर हुने चिन्ता स्थानीयको छ।
स्थानीय समाजसेवी र अधिकारकर्मीहरू भन्छन्, “अपराधी पत्ता लगाउन नसक्नु केवल एउटा मुद्दाको असफलता होइन, यो न्याय प्रणालीप्रतिको विश्वासमाथिको चुनौती पनि हो।”
पीडित परिवारले सुरुदेखि नै निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै आएको छ। तर पाँच वर्ष बितिसक्दा पनि उनीहरूले न्यायको अनुभूति गर्न सकेका छैनन्।
बिर्तामोडमा प्रहरी नेतृत्व फेरिने क्रम जारी छ। तर दिनो राजवंशी हत्या प्रकरणको फाइल भने अझै खुल्न सकेको छैन। पाँच वर्षअघि चैतुवारीको खेतमा भेटिएको त्यो शवसँगै उठेका प्रश्नहरू आज पनि जवाफको प्रतीक्षामा छन्।
