काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ४५३ जना सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार उक्त कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।
आज बिहानसम्म सञ्चालन गरिएको ट्राफिक चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०५ जना, राइड सेयरिङमा २३८, रातोबत्ती उल्लङ्घन गर्ने १८४, तीव्र गतिमा सवारी चलाउने १८६, लेन क्रस गर्ने १४, फुटपाथ प्रयोग गर्ने १००, हर्न निषेध उल्लङ्घन गर्ने ११९ तथा एकतर्फी सडकमा सवारी चलाउने १३९ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनमा एक हजार ३६८ जनामाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक सुवेदीले उपत्यकामा ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइएको बताउँदै चालकहरूलाई नियम पालना गर्न आग्रह गरेका छन्।
ट्राफिक प्रहरीले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको स्मरण गराउँदै त्यस्तो अवस्थामा सवारी सञ्चालन गरेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन अनुरोध गरेको छ।
