काठमाडौं – डा. शेखर कोइराला ले पार्टीभित्र एकता कायम राख्न पाँच बुँदे प्रस्ताव अघि सारेका छन्।
विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा र महामन्त्री प्रदीप पौडेल सँगको भेटमा कोइरालाले पार्टीभित्र सहमति र एकतालाई बलियो बनाउन भन्दै उक्त प्रस्ताव प्रस्तुत गरेको उहाँको सचिवालयले जनाएको छ।
कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्नुपर्ने प्रस्ताव राखेका छन्। साथै, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
त्यसैगरी, उनले १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनपछि गठन भएको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने प्रस्ताव पनि अघि सारेका छन्।
कोइरालाको अर्को प्रस्तावअनुसार कार्यसम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्नुपर्ने उल्लेख छ। साथै निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका संरचना आपसी सहमतिका आधारमा मात्रै गठन गर्नुपर्नेमा उनले जोड दिएका छन्।
कोइरालालाई चैत २२ गते महामन्त्री प्रदीप पौडेल र वैशाख २३ गते सभापति गगन थापाले विशालनगरस्थित सम्पर्क कार्यालयमा पुगेर भेट गरेका थिए। ती भेटवार्ता तथा त्यसपछिका अनौपचारिक छलफलमा कोइरालाले उक्त प्रस्तावहरू राखेको उहाँका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन्।
यसअघि संस्थापन पक्षबाट आएको वरिष्ठ नेताको प्रस्ताव भने कोइरालाले अस्वीकार गरिसकेको विषय पनि सार्वजनिक भइसकेको छ।
