बाजुरा, जेठ ११ गते । बाजुराका १३५ भन्दा बढी बस्ती लामो समयदेखि बाढीपहिरोको उच्च जोखिममा परे पनि सुरक्षित स्थानमा स्थानान्तरणको काम अझै अघि बढ्न सकेको छैन। वर्षायाम सुरु भएसँगै जोखिमयुक्त बस्तीका स्थानीयमा ज्यान जोगाउने चिन्ता बढेको छ।
स्थानीयका अनुसार हिउँदमा सामान्य रूपमा बसोबास गर्न सकिए पनि वर्षायाममा माथिबाट पहिरो र तलबाट बाढी आउने जोखिमका कारण जेठदेखि भदौसम्म निकै त्रासपूर्ण अवस्था रहने गरेको छ। पटक–पटक स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसमक्ष बस्ती स्थानान्तरणको माग राखिए पनि ठोस पहल हुन नसकेको गुनासो स्थानीयले गरेका छन्।
बडीमालिका नगरपालिका–४ ओलेनाका स्थानीय कमलनाथले २०७६ सालदेखि नै बस्ती उच्च जोखिममा रहेको बताउँदै सरकारसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो। उहाँका अनुसार गत वर्ष पहिरो र बाढी गाउँसम्मै पुगेपछि ज्यान जोगाउन कठिन भएको थियो।
बुढीनन्दा, त्रिवेणी, गौमूल, बडीमालिका, बुढीगङ्गा र खप्तडछेडेदह गाउँपालिकाका अधिकांश बस्ती पनि बाढीपहिरोको जोखिममा रहेका छन्। खप्तडछेडेदह गाउँपालिका–५ को पारतोला गुईवन बस्ती करिब २५ वर्षदेखि पहिरोको जोखिममा रहेको स्थानीयको भनाइ छ।
स्थानीयले निर्वाचनका बेला बस्ती स्थानान्तरणको आश्वासन दिने जनप्रतिनिधि पछि गाउँ फर्केर नआउने गरेको आरोप समेत लगाएका छन्। बुढीगङ्गा नगरपालिकाका बजेडी, निमनी, ताँप्रीसेरा, अम्कोट तथा बडीमालिका नगरपालिकाका घाँगर, तिपाडा, मना र कोर्धललगायत बस्तीका नागरिक वर्षायाममा त्रिपाल टाँगेर वन क्षेत्रमा बस्न बाध्य हुने गरेका छन्।
स्थानीय तहले जोखिमयुक्त बस्तीको तथ्याङ्क सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले पनि सुरक्षित स्थान व्यवस्थापनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी डोरन्द्र निरौलाले जिल्लाका धेरै बस्ती उच्च जोखिममा रहेको स्वीकार गर्दै स्थानान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अस्थायी टहरा निर्माणका लागि करिब सात करोड रुपैयाँ वितरण गरिएको छ भने केही स्थानमा अस्थायी बसोबासको व्यवस्था पनि गरिएको छ।
तर बस्ती स्थानान्तरणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले तत्काल काम अघि बढाउन चुनौती रहेको प्रशासनको भनाइ छ। भूगोलविद्सहितको टोलीबाट अध्ययन गराएर मात्रै दीर्घकालीन स्थानान्तरण प्रक्रिया अघि बढाइने तयारी गरिएको जनाइएको छ।
