काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदर गर्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि पेसी तोकिएको हो ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेश दिएको थियो ।
देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । तर देउवाले आफ्नो रिटमा उक्त मुद्दा हेर्ने अधिकार विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने जिकिर गरेका छन् ।
उनले काठमाडौं जिल्ला अदालतसँग यस प्रकारको मुद्दामा क्षेत्राधिकार नै नभएको अवस्थामा पक्राउ पुर्जी जारी गरिएको दाबी गरेका छन् । साथै अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको, सम्पत्तिको स्रोत खुलाउन इच्छुक रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको पनि रिटमा उल्लेख गरिएको छ ।
देउवा र उनकी पत्नी केही समयअघि हङकङ गएका थिए । उनीहरू हालसम्म काठमाडौं फर्किएका छैनन् । यसबीच अनुसन्धान विभागले उनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाएको भए पनि इन्टरपोलले हालसम्म नोटिस जारी गरेको छैन ।
