काठमाडौं । राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्रबहादुर केसी ले मुलुक अहिले जटिल अवस्थामा पुगेको बताएका छन् ।
आइतबार सुनवल मा आयोजित “संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता” विषयक कार्यक्रममा बोल्दै केसीले नेपालमा आफूअनुकूलको राजनीतिक शक्ति स्थापित गर्न पश्चिमा मुलुकहरू सक्रिय रहेको आरोप लगाए ।
उनले संविधान संशोधनका क्रममा विदेशी हस्तक्षेप हुन नदिन देशभरबाट सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए ।
केसीले राष्ट्रियता, गणतन्त्र र सार्वभौमिकताको संरक्षणलाई केन्द्रमा राखेर मात्र संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवाहरूले संविधान संशोधन हतारमा नभई दीर्घकालीन रूपमा देश विकास, राजनीतिक स्थायित्व र निकास सुनिश्चित हुने गरी गर्नुपर्नेमा जोड दिएका थिए ।
