काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोगसम्बन्धी मुद्दा दर्ता भएको छ ।
चन्दविरुद्ध २०८३ वैशाख १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा उजुरी दर्ता भएको जनाइएको छ । आयोगले उक्त विषय वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालय लाई पठाएको थियो ।
त्यसपछि मन्त्रालयले वैशाख ३१ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई १० दिनभित्र जवाफसहित आवश्यक विवरण पेश गर्न निर्देशन दिएको हो । राखेपले क्यान अध्यक्षमाथि लागेका सम्पूर्ण आरोप समेट्दै स्पष्टीकरण माग गर्दै क्यानलाई पत्राचार गरेको जनाएको छ ।
उजुरीमा अमेरिकामा सम्पन्न क्रिकेट विश्वकपका क्रममा जर्सी तथा टिकट व्यवस्थापनमा आर्थिक चलखेल भएको आरोप लगाइएको छ । साथै अध्यक्ष चन्द चिकित्सकीय कोटाबाट अमेरिका गएको र आफ्नी श्रीमतीलाई समेत क्यानकै खर्चमा अमेरिका लगिएको दाबी गरिएको छ ।
त्यस्तै, क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का ले पनि आफ्नी श्रीमतीसहित क्यानकै खर्चमा अमेरिका भ्रमण गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।
उजुरीमा सार्वजनिक कोषको दुरुपयोग, विश्वकप भ्रमणमा अनियमितता, कर्मचारी भर्ना प्रक्रियामा दुरुपयोग, अपाङ्गता भत्ताको दुरुपयोग, वार्षिक साधारण सभा सञ्चालनमा अनियमितता तथा विश्वकप जर्सी र टिकट व्यवस्थापनमा आर्थिक अपचलन भएको लगायत विषयमा जवाफ माग गरिएको छ ।
