काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक अध्ययन गर्न समिति गठन गरेको छ ।
नापी विभाग का उपमहानिर्देशक सुशिल डंगोल को संयोजकत्वमा गठन गरिएको समितिले सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाउनेछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल को अध्यक्षतामा सिंहदरबार मा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् । नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।
बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, उपसचिव भिम बुढा, निर्देशक दयानन्द जोशी तथा नापी अधिकृत ज्योति ढकाल लगायतको सहभागिता रहेको थियो ।
बैठकमा बाजुरा–हुम्ला सीमा विवाद र प्राविधिक अवस्थाबारे विस्तृत छलफल गर्दै अध्ययन समिति गठन गर्ने निष्कर्ष निकालिएको जनाइएको छ ।
