कालीकोट । बाजुरा को हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि पुनः बन्द गरेको छ ।
क्लबका अनुसार जेठ ८ गते हिमाली युवा क्लब, गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालयबीच भएको सहमति कार्यान्वयन नभएकाले आइतबारदेखि आन्दोलन पुनः सुरु गरिएको हो ।
युवा क्लबले घटनास्थलको स्थलगत अनुगमन गरी सर्जमिन मुचुल्का तयार गर्न, घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा स्थानीय र पर्यटकबाट लुटिएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
त्यसैगरी कुटपिटबाट घाइते भएकाहरूको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने, विस्थापित परिवारलाई पुनःस्थापना गरी सुरक्षाको प्रत्याभूति दिनुपर्ने तथा च्याचौरमा निर्माणाधीन प्रहरी चौकी भवनका नष्ट गरिएका सामग्रीको क्षतिपूर्ति उपलब्ध गराई निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने माग पनि अघि सारिएको छ ।
करिडोर बन्द भएसँगै कर्णाली क्षेत्रको यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ भने यात्रु तथा मालवाहक सवारी साधन आवतजावतमा समस्या उत्पन्न भएको छ ।
