काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताको मस्यौदा लगभग अन्तिम चरणमा पुगेको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै उनले अमेरिका, इरान तथा मध्यपूर्वका अन्य सम्बन्धित राष्ट्रहरूबीच सहमति जुटाउने प्रयास तीव्र रूपमा अघि बढिरहेको उल्लेख गरेका हुन्।
ट्रम्पका अनुसार प्रस्तावित सम्झौताअन्तर्गत हर्मुज जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ, जसलाई क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण मानिएको छ।
सम्झौताका बाँकी प्राविधिक तथा राजनीतिक पक्षमा अहिले छलफल भइरहेको र चाँडै नै औपचारिक घोषणा गरिने उनले बताएका छन्।
यसै क्रममा ट्रम्पले खाडी क्षेत्रका विभिन्न नेतासँग टेलिफोन संवाद गरी इरानको पछिल्लो प्रस्तावमाथि समीक्षा गरेका थिए। उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सँग पनि छुट्टै वार्ता गरेको र उक्त छलफल सकारात्मक रहेको जानकारी दिएका छन्।
