माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
रुसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी रुस भ्रमणमा गएका हुन् । रुसमा आयोजना हुने उक्त सम्मेलनमा विभिन्न देशका कम्युनिस्ट तथा वामपन्थी दलका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।
रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा माधवकुमार नेपाल ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा उनले अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, वाम आन्दोलन र आपसी सहकार्यका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा उनले गेन्नाडी जुहानोभ लगायत रुसी कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । भेटमा नेपाल–रुस सम्बन्ध, आर्थिक विकास तथा साझा हितका विषयमा छलफल हुने बताइएको छ ।
पूर्वप्रधानमन्त्री नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि उक्त कार्यक्रममा सहभागी हुन रुस प्रस्थान गरेका छन् । दुवै नेताले सम्मेलनका विभिन्न सत्र तथा अन्तरक्रियामा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
भ्रमण सम्पन्न गरी माधवकुमार नेपाल जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ । यस भ्रमणले नेपाल र रुसबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
