काठमाडौँमा सशस्त्र प्रहरी बल नेपाल ले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की लाई सम्मान गरेको छ।
नारायण दत्त पौडेल ले हलचोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दुवै आरोहीलाई सम्मान गर्दै हिमालको चुचुरोमा राष्ट्र र संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए। उनले यस्तो उपलब्धिले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोबल उच्च बनाएको उल्लेख गर्दै साहसिक तथा पर्वतीय गतिविधिलाई संगठनले थप प्राथमिकता दिने धारणा राखे।
महानिरीक्षक पौडेलले मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमार्फत उच्च भू–भाग खोज तथा उद्धार तालिम सञ्चालन भइरहेकाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल थप सक्षम बन्दै गएको बताए।
सम्मान कार्यक्रममा निम दिकि शेर्पा र अनिता कार्की ले राष्ट्र र संगठनको झण्डा सगरमाथाको चुचुरोमा फहराउन पाउनु गर्वको विषय भएको बताउँदै सफल आरोहणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की ले जेठ ३ गते बिहान १०:२० बजे सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने निम दिकि शेर्पा ले सोही दिन बिहान ११:५५ बजे सगरमाथा तथा जेठ ४ गते दिउँसो ३:२५ बजे लोत्से हिमालको सफल आरोहण गरेकी थिइन्।
सशस्त्र प्रहरी बल नेपाल का तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही बनेका छन्। उनीहरूको उपलब्धिले संगठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्व विकासमा थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
