तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन उल्लेख्य रूपमा घट्ने चिन्तामा छन्। अघिल्ला वर्षमा यही समयमा मह निकालेर बिक्री गरिसक्ने उनले यसपालि भने प्रतिकूल मौसमका कारण उत्पादनमा ठूलो असर परेको बताएका छन्।
वर्षौँदेखि मौरीपालन व्यवसाय गर्दै आएका वाग्लेले यस वर्ष जेठ महिनासम्म करिब ३०० किलो मह उत्पादन हुने अपेक्षा गरेका थिए। तर फागुनदेखि सुरु भएको बाक्लो कुहिरो, चिसोपन र लगातार वर्षाका कारण मौरीको प्राकृतिक गतिविधिमा असर पुग्दा उत्पादन घटेर करिब १०० किलो हाराहारीमा सीमित हुने अनुमान गरिएको छ।
उनका अनुसार फागुन र चैतमा लागेको बाक्लो कुहिरोका कारण मौरीले फूलबाट पर्याप्त रस सङ्कलन गर्न सकेनन्। त्यसपछि वैशाखभर परेको निरन्तर वर्षाले मौरी घारबाट बाहिर निस्कनै नसक्दा मह उत्पादनमा थप गिरावट आएको हो। मौसम प्रतिकूल हुँदा फूलमा रस कम विकास हुने र मौरीको उडान समय घट्ने भएकाले उत्पादनमा प्रत्यक्ष असर पर्ने वाग्ले बताउँछन्।
मह उत्पादन घटेसँगै बजार व्यवस्थापनमा पनि चुनौती थपिएको उनले बताएका छन्। दैनिक ५० भन्दा बढी ग्राहकले मह उपलब्धताबारे सोध्ने गरे पनि पर्याप्त उत्पादन नभएकाले तत्काल आपूर्ति गर्न नसकिएको उनको भनाइ छ। स्थानीयस्तरमा उत्पादन हुने शुद्ध र प्राकृतिक महप्रति उपभोक्ताको विश्वास बढ्दै गएकाले माग भने निरन्तर बढिरहेको उनले बताए।
सुरज वाग्ले ले मौरीपालनलाई कम लगानीमा सुरु गर्न सकिने प्रभावकारी कृषि व्यवसायका रूपमा व्याख्या गर्दै यसले ग्रामीण परिवारको आम्दानीमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए। मौरीले परागसेचनमार्फत कृषि उत्पादन बढाउनसमेत सहयोग गर्ने भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ छ।
उनले सरकारले मौरीपालन व्यवसायलाई प्रोत्साहन गर्ने नीति ल्याए पनि मौसमजन्य जोखिम न्यूनीकरणमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। विदेशभन्दा स्वदेशमै मेहनत गरेर राम्रो आम्दानी गर्न सकिने विश्वासका साथ आफू मौरीपालन र बाख्रापालनमा सक्रिय रहेको वाग्लेले बताए।
