काठमाडौं — शिशिर खनाल जेठ दोस्रो साता भारत जाने भएका छन्। उनी नयाँदिल्लीमा हुने ‘इन्टरनेसनल बिग क्याट एलाइन्स शिखर सम्मेलन’ मा सहभागी हुनेछन्।
सम्मेलन जुन १–२ अर्थात् जेठ १८–१९ गते नयाँदिल्ली मा आयोजना हुँदैछ। भारतीय विदेशमन्त्री एस जयशंकर को निमन्त्रणामा मन्त्री खनाल त्यसतर्फ जान लागेका हुन्।
सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा खनाल र जयशंकरबीच द्विपक्षीय भेटवार्ताको तयारी पनि भइरहेको बताइएको छ।
परराष्ट्र स्रोतका अनुसार सम्मेलनस्थलमै प्रधानमन्त्री मोदी र मन्त्री खनालबीच संक्षिप्त ‘साइडलाइन’ भेट हुन सक्ने सम्भावना रहेको छ। साथै भारतीय वाणिज्यमन्त्री पियुष गोयल सँग पनि छुट्टै वार्ताको तयारी भइरहेको जनाइएको छ।
इन्टरनेसनल बिग क्याट एलाइन्स भारतले सन् २०२३ मा सुरु गरेको वैश्विक पहल हो। यसको उद्देश्य बाघ, सिंह, हिमचितुवा लगायत ठूला बिरालो प्रजातिका वन्यजन्तुको संरक्षणमा सहकार्य गर्नु हो।
यसैबीच, लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारत–चीन योजनाप्रति नेपालले आपत्ति जनाएको विषयले दुई देशबीच कूटनीतिक चासो बढाएको छ। नेपालले यस विषयमा भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाइसकेको छ।
