काठमाडौं — सभामुख डोलप्रसाद अर्याल ले मुलुकको आवश्यकता र भविष्यका चुनौतीलाई सम्बोधन गर्नेगरी कानुन निर्माण हुनुपर्ने बताएका छन्।
पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पुराना तथा असान्दर्भिक कानुन संशोधन वा खारेज गर्दै प्रविधिमैत्री नयाँ कानुन निर्माण गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताए।
सभामुख अर्यालले कानुन निर्माण प्रक्रियामा व्यवहारिकताको अभाव रहेको उल्लेख गर्दै सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी विद्यमान व्यवस्थाको आलोचना गरे। लिखित परीक्षामा असफल हुनेले ९० दिन कुर्नुपर्ने नियम अव्यवहारिक रहेको उनको भनाइ थियो।
उनले दुई पाङ्ग्रे सवारीका लागि १८ वर्ष र चार पाङ्ग्रे सवारीका लागि २१ वर्ष उमेर हद तोकिएको विषयलाई पनि विरोधाभासपूर्ण भएको बताए। कानुन बनाउँदा सामाजिक चेतना र व्यवहारिक पक्षलाई बेवास्ता गरिएको उनको टिप्पणी थियो।
अर्यालले कानुन निर्माणका क्रममा प्रयोगकर्ता र सरोकारवालासँग पर्याप्त छलफल नहुने गरेको भन्दै असन्तुष्टि जनाए। उनले नीति निर्माणमा अनुभवी पुस्ता, वर्तमान पुस्ता र प्रविधिमा दक्ष नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको बताए।
देशको समृद्धिका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समान ‘स्पिरिट’ र ‘स्पिड’ आवश्यक रहेको उल्लेख गर्दै उनले स्रोतभन्दा पनि स्पष्ट नियत भए मात्रै नीति तथा कानुन प्रभावकारी बन्ने धारणा राखे।
