काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन ले ट्याक्सी व्यवसायमा लागू कर संरचना र ‘कालो प्लेट’ प्रणालीमा अनियमितता तथा चलखेल भएको आरोप लगाउँदै उक्त व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ट्याक्सी चालकहरू श्रमिक वर्गका नागरिक भएकाले उनीहरूलाई अनावश्यक आर्थिक भार थोपारिएको बताए। उनका अनुसार ट्याक्सी खरिदमै सरकारले अत्यधिक कर लगाउने व्यवस्था रहेको छ, जसले साना व्यवसायीलाई प्रत्यक्ष असर पारेको छ।
पुनले ट्याक्सी किन्न २५० देखि ३०० प्रतिशतसम्म कर लाग्ने दाबी गर्दै ‘कालो प्लेट’ अर्थात् ट्याक्सी लाइसेन्स प्लेट प्राप्त गर्न मात्र करिब १५ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। उनले यस प्रक्रियामा अनावश्यक जटिलता र सिण्डिकेटको आशंका रहेको पनि बताए।
उनले भने, “यसमा चलखेलको कुरा छ, सिण्डिकेटको कुरा छ। त्यसैले यो व्यवस्था बुझेर तुरुन्त खारेज गरियोस्।”
सांसद पुनले ट्याक्सी चालकहरूलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउन सरकारलाई नीतिगत सुधार गर्न पनि आग्रह गरेका छन्।
