काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा करिब एक महिनाभित्रै प्रकाशित हुने भएपछि मन्त्रालयले शैक्षिक क्यालेन्डरअनुसार कक्षा ११ को पढाइ समयमै सुरु गर्ने तयारी गरेको हो।
मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र लाई निर्देशन दिएको छ। सोअनुसार सबै विद्यालय र स्थानीय तहहरूलाई समयमै सूचना पठाउन पनि केन्द्रलाई पत्राचार गर्ने व्यवस्था मिलाइएको छ।
यसअघि एसईई नतिजा कहिले आउने र कक्षा ११ को पढाइ कहिले सुरु हुने भन्ने विषयमा अन्योलता रहँदै आएको थियो। अब समयमै नतिजा प्रकाशन र पठनपाठन सुरु गर्ने निर्णयले विद्यार्थी र अभिभावकको चिन्ता कम हुने मन्त्रालयको विश्वास छ।
मन्त्रालयका अनुसार असार १ देखि कक्षा ११ को पढाइ सुरु गर्दा विद्यालय शिक्षाको गुणस्तर सुधार हुने तथा सबै कक्षामा पठनपाठनको एकरूपता कायम गर्न मद्दत पुग्नेछ। शैक्षिक सुशासन कायम गर्दै पढाइलाई प्रभावकारी बनाउन यो व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ।
