तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई शान्ति सम्झौतामा प्रतिबद्ध हुन दबाबपूर्ण चेतावनी दिएसँगै पश्चिम एसियामा तीव्र कूटनीतिक गतिविधि सुरु भएको छ।
इरानी सरकारी समाचार एजेन्सी नूर न्यूजका अनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाई ले अमेरिकी प्रस्ताव इरानले प्राप्त गरिसकेको र त्यसको समीक्षा भइरहेको बताएका छन्। इरानका अनुसार अमेरिकी पक्षले आफ्ना प्रस्तावहरू पाकिस्तानी मध्यस्थकर्तामार्फत तेहरानसम्म पुर्याएको हो।
इरानको विदेश मन्त्रालयले तेहरान र वासिङ्टनबीच सन्देश आदान–प्रदानमा पाकिस्तान ले सक्रिय मध्यस्थता गरिरहेको जनाएको छ। इरानले अघि सारेको १४ बुँदे शान्ति योजनालाई आधार बनाएर विभिन्न चरणमा कूटनीतिक संवाद जारी रहेको बताइएको छ।
यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेस्कियन ले बुधबार पाकिस्तानी अधिकारी मोहसेन नकवीसँग भेटवार्ता गरेका छन्। भेटमा क्षेत्रीय सुरक्षा, द्विपक्षीय सम्बन्ध तथा इरान–अमेरिका वार्ताको पछिल्लो अवस्थाबारे छलफल भएको जनाइएको छ। दुवै पक्षले कूटनीतिक संवादलाई निरन्तरता दिने विषयमा पनि विचार आदान–प्रदान गरेका थिए।
पाकिस्तानी सेना प्रमुख असीम मुनीर को इरान भ्रमणको तयारी भइरहेका बेला सम्भावित सहमतिका संकेतहरू देखिएको विश्लेषण गरिएको छ। इरानी राष्ट्रपतिले पाकिस्तानले क्षेत्रीय स्थिरता र रचनात्मक संवादका लागि खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
यसैक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई प्रस्तावित शान्ति योजनामा सकारात्मक प्रतिक्रिया दिन आग्रह गरेका छन्। एन्ड्रयूजमा पत्रकारहरूसँग कुरा गर्दै उनले “यो सम्झौताका लागि उपयुक्त समय” भएको उल्लेख गर्दै इरानले अवसर नगुमाउनुपर्ने बताएका छन्।
अमेरिकी नीति तथा क्षेत्रीय सुरक्षा सल्लाहकारका उपप्रमुख स्टिफन मिलर ले पनि इरानले अमेरिकी प्रस्ताव स्वीकार गर्ने वा अमेरिकी सैन्य दबाबको सामना गर्नेबारे निर्णय लिनुपर्ने अवस्था आएको बताएका छन्। उनले फक्स न्यूजसँगको अन्तर्वार्तामा वासिङ्टन आफ्नो रणनीतिमा स्पष्ट रहेको दाबी गरे।
पछिल्लो समय मध्यपूर्व क्षेत्रमा तनाव पुनः चुलिँदै गएको छ। सम्भावित नयाँ द्वन्द्वको जोखिम बढिरहेका बेला अन्तर्राष्ट्रिय समुदायले सबै पक्षलाई संयम अपनाउँदै कूटनीतिक समाधानतर्फ अघि बढ्न आग्रह गरिरहेका छन्।
