काठमाडौं । सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभाको ‘आकस्मिक समय’लाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा केही सांसदहरूले समसामयिक विषयमा धारणा राखेपछि आकस्मिक समय समाप्त गरी शून्य समय सुरु गर्न खोजिएको थियो। तर, त्यसक्रममा थप सांसदहरू बोल्न आसनबाट उठेपछि सभामुख अर्यालले उनीहरूलाई बस्न आग्रह गरेका थिए।
सांसदहरू राजेन्द्रकुमार राई र बलावती शर्मा लगायतका सदस्यहरू बोल्न उठिरहेपछि सभामुखले आकस्मिक समयको संसदीय अभ्यासबारे स्पष्ट पारे। उनले अघिल्लो बैठक समाप्त भएदेखि हालसम्म देशमा घटेका जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण तथा आकस्मिक विषयमा मात्रै उक्त समयमा बोल्न समय माग्न र दिन सकिने व्यवस्था रहेको बताए।
सभामुख अर्यालले कुनै विषय आकस्मिक समयका लागि पर्याप्त संवेदनशील वा आवश्यक नदेखिएमा सभामुखले समय नदिन सक्ने संसदीय अधिकार पनि रहेको उल्लेख गरे। यद्यपि, आसनबाट उठेका सदस्यहरू नबसेपछि उनले तोकिएको समयभन्दा थप सांसदलाई पनि बोल्न अवसर दिएका थिए।
संसद्मा आकस्मिक समय, शून्य समय तथा विशेष समयमार्फत सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने अभ्यास रहँदै आएको छ।
