७ जेठ, काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनाले यस वर्ष विशेष पूर्वतयारी योजना लागू गरेको छ। विगतका अनुभवका आधारमा उद्धार तथा राहत प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
सेनाले देशभरका गण तथा गुल्ममा फौजलाई तयारी अवस्थामा राखेको छ। प्रदेशस्तरका पृतनामा विशेष खोज तथा उद्धार टोली र आवश्यक उपकरण पनि तैनाथ गरिएको छ।
हवाई उद्धारका लागि सुर्खेत र इटहरीमा एक–एक हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको छ। काठमाडौंमा थप हवाई साधन तयारी अवस्थामा राखी आवश्यक परे तत्काल परिचालन गरिनेछ।
राजमार्ग अवरुद्ध भएमा खोल्न धादिङ, चितवन र बारामा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ। साथै गौचरमा द्रुत यान्त्रिक पुल र शीघ्र प्रतिकार्य टोली पनि राखिएको छ।
घाइते तथा प्रभावित नागरिकका लागि सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्ने व्यवस्था गरिएको छ। औषधि, खाद्यान्न र राहत सामग्री पनि तयारी अवस्थामा राखिएको छ।
सेनाले सरकारी निकाय, सुरक्षा संयन्त्र र समुदायसँग समन्वय बढाउँदै ‘अभ्यास हातेमालो’ जस्ता अभ्यासमार्फत क्षमता अभिवृद्धि गरिरहेको छ। यसले विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
