काठमाडौं । नेपाल आयल निगमले देशभरका अव्यवस्थित, फोहोर र असुरक्षित पेट्रोल पम्पहरूलाई ७ दिनभित्र सुधार गर्न कडा अल्टिमेटम दिएको छ । तोकिएको समयभित्र सुधार नगरे इन्धन आपूर्ति रोक्ने र लाइसेन्स नवीकरणमा कडाइ गर्ने चेतावनीसमेत दिइएको छ ।
निगमले सातै प्रदेशका कार्यालय र डिपोमार्फत जारी परिपत्रमा धेरै पम्पहरू न्यूनतम सेवा मापदण्डमै असफल भएको जनाएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा म्याद गुज्रिएका वा कामै नगर्ने अग्नि सुरक्षा उपकरण भेटिएको तथा कतै उपकरण नै नराखिएको पाइएको छ ।
पेट्रोल जस्तो जोखिमपूर्ण इन्धन बिक्री हुने स्थानमै सुरक्षा बेवास्ता गरिएको भन्दै अब प्रत्येक पम्पमा फायर एक्स्टिङ्गुइशर, बालुवा, पानीको स्रोत र आपतकालीन सुरक्षा प्रणाली अनिवार्य गरिएको छ । साथै सफा शौचालय, खानेपानी र नियमित सरसफाइलाई पनि अनिवार्य मापदण्ड बनाइएको छ ।
त्यस्तै जीर्ण संरचना, फोहोर वातावरण, तेल चुहावट र अव्यवस्थित सञ्चालन गर्ने पम्पहरूलाई तत्काल मर्मत, रंगरोगन र सुधार गर्न निर्देशन दिइएको छ । निगमले अब पेट्रोल पम्पलाई केवल इन्धन बिक्री केन्द्र नभई सेवा केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएको छ ।
निगमले मूल्यसूची पारदर्शी नराख्ने वा उपभोक्तासँग अतिरिक्त शुल्क असुल्ने पम्पमाथि पनि कडा निगरानी गर्ने जनाएको छ । उपभोक्ताहरूले भने यो कदम स्वागतयोग्य भए पनि प्रभावकारी कार्यान्वयन नभए फेरि समस्या दोहोरिन सक्ने आशंका व्यक्त गरेका छन् ।
