काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल प्रवर्द्धक , भ्लगर तथा पडकास्टरलाई नेपाल भ्रमण गराउने कार्यक्रम घोषणा गरेको छ । दूतावासले सूचना जारी गर्दै विशेष ‘परिचयात्मक भ्रमण’ कार्यक्रममा सहभागी हुन इच्छुक भारतीय डिजिटल सामग्री निर्माता (कन्टेन्ट क्रिएटर) हरूलाई आवेदन दिन आह्वान गरेको हो ।
दूतावासका अनुसार उक्त कार्यक्रमअन्तर्गत पाँच जना उत्कृष्ट भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तालाई छनोट गरी नेपाल भ्रमण गराइनेछ । भ्रमणका क्रममा उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थल, आतिथ्य सत्कार तथा विविध पर्यटकीय क्षेत्रको अनुभव लिनेछन् ।
दूतावासले यस कार्यक्रममार्फत तयार हुने डिजिटल सामग्रीले भारतीय पर्यटकलाई नेपालमा अवकाश, धार्मिक यात्रा, साहसिक पर्यटन, पारिवारिक भ्रमण तथा सांस्कृतिक अनुभवका लागि आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ । नेपाललाई भारतीय पर्यटकका लागि नजिकको, सहज र स्वागतयोग्य गन्तव्यका रूपमा प्रस्तुत गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
भ्रमणमा सहभागी हुन चाहने व्यक्ति भारतीय नागरिक वा भारतमा बसेर डिजिटल सामग्री उत्पादन गर्ने हुनुपर्ने मापदण्ड तोकिएको छ । साथै युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्स (ट्विटर) लगायतका प्लेटफर्ममा सक्रिय उपस्थिति हुनुपर्ने तथा यात्रा, संस्कृति, आध्यात्मिकता, जीवनशैली, साहसिक पर्यटन, स्वास्थ्य, खाना वा सम्पदासम्बन्धी सामग्री बनाउने अनुभव आवश्यक पर्ने दूतावासले जनाएको छ ।
छनोट भएका सहभागीहरूले नेपाल भ्रमणपछि आफ्नो अनुभवका आधारमा ट्राभल भ्लग, रील्स, शर्ट्स, स्टोरिज, पडकास्ट वा अन्य डिजिटल सामग्री तयार गरी सार्वजनिक गर्नुपर्नेछ । दूतावासले उच्च गुणस्तरका सामग्रीमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।
