काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले इरानले चाँडै सम्झौतामा नपुगे गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ‘इरानको लागि घडी टिकटिक गरिरहेको छ’ भन्दै छिटो निर्णय लिन आग्रह गरेका छन् । उनले समयमै सहमति नभए इरानसँग “केही पनि बाँकी नरहने” चेतावनी दिएका छन् ।
यो अभिव्यक्ति अमेरिका र इरानबीच आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध तथा युद्ध क्षतिपूर्तिसम्बन्धी वार्ता फेरि अवरुद्ध भएको समयमा आएको हो । अमेरिकाले इरानसँग ४०० किलोग्राम समृद्ध युरेनियम हस्तान्तरण गर्न तथा एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्न प्रस्ताव गरेको बताइएको छ ।
यता इरानले भने क्षेत्रमा हुने सैन्य गतिविधि रोकिएमा, अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइएमा र रोक्का गरिएका सम्पत्तिहरू फिर्ता गरिएमा मात्र वार्तामा सकारात्मक ढंगले अघि बढ्ने जनाएको छ । इरानी राष्ट्रपति मसूद पजाकियानले अमेरिका र इजरायल माथि इरानलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन् ।
