काठमाडौँ, जेठ ३ गते– परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि आयोजना गरेको सुझाव संकलन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको भन्दै आगामी २०–२५ वर्षपछि पनि स्मरण गरिने गरी विकास योजना बनाउनुपर्नेमा जोड दिए। साथै स्थानीय तहका जनप्रतिनिधिलाई दूरगामी सोचका साथ काम गर्न आग्रह गरे।
काठमाडौं क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भाग घना बस्ती भएको र उत्तरी भागमा अझै खुला जमिन बाँकी रहेको उल्लेख गर्दै व्यवस्थित शहरी विकासमा ध्यान दिनुपर्ने बताए। उनले ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिने र होमस्टे विकासको सम्भावना रहेको पनि औंल्याए।
टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा बस्ती प्रभावित हुन सक्ने भन्दै वैकल्पिक मार्गको अध्ययन आवश्यक रहेको उनको भनाइ थियो। साङ्ला खोला र विष्णुमती खोला करिडोरलाई वैकल्पिक सडकका रूपमा विकास गर्दा कम लागतमा अन्तर्राष्ट्रिय मापदण्डको संरचना बनाउन सकिने उनले सुझाव दिए।
त्यस्तै उनले स्थानीय सरकारलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै कर तिर्नेदेखि सिफारिस लिनेसम्मका सेवा अनलाइनमार्फत उपलब्ध गराउनुपर्ने बताए। कार्यक्रममा सहभागी बागमती प्रदेशकी सांसद हरिप्रभा खड्गी श्रेष्ठले विकास योजनामा राजनीति नगरी जनताको आवश्यकतालाई केन्द्रमा राखेर नीति बनाउनुपर्ने धारणा व्यक्त गरिन्।
