काठमाडौं– भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातु आयातमा कडाइ गर्दै कर दर बढाएपछि त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर नेपालमा पनि पर्न सक्ने सरोकारवालाहरूले बताएका छन्। नयाँ व्यवस्थाअनुसार भारतले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ भने प्लाटिनममा लाग्ने शुल्क पनि उल्लेख्य रूपमा वृद्धि गरिएको छ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले केही प्रकारका चाँदी आयातलाई “प्रतिबन्धित” श्रेणीमा राख्दै थप नियन्त्रणात्मक व्यवस्था लागू गरेको छ। दक्षिण एसियाली बजारमा सुन–चाँदीको आपूर्ति शृङ्खला भारतसँग गहिरो रूपमा जोडिएकाले यसको प्रभाव नेपालमा मूल्य, आपूर्ति र अवैध कारोबारसम्म पुग्न सक्ने व्यवसायीहरूको भनाइ छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यका अनुसार भारतमा आयात कर बढेपछि त्यहाँ सुन महँगो हुने र त्यसको असर नेपाली बजारमा पनि देखिन सक्छ। नेपाल र भारतबीचको स्थिर विनिमय दरका कारण मूल्य असन्तुलन हुँदा व्यापार प्रवाह प्रभावित हुने तथा सीमापार तस्करीको जोखिम बढ्ने उनको चेतावनी छ।
शाक्यले नेपालले पनि आगामी बजेटमार्फत कर संरचना समायोजन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार भारतसँग कर प्रणालीमा ठूलो अन्तर रहिरहेमा बजारमा असन्तुलन, अवैध कारोबार र उपभोक्तामाथि दबाब बढ्न सक्छ। “समायोजन नगरे सरकार र उपभोक्ता दुवै प्रभावित हुन्छन्,” उनले भने।
व्यवसायीहरूको प्रारम्भिक मूल्यांकनअनुसार सुनमा नेपाल र भारतबीच कर संरचनामा अन्तर देखिन सक्ने भएकाले आगामी दिनमा नीतिगत समायोजनबारे छलफल बढ्ने सम्भावना छ। यद्यपि चाँदी र हिरा आयातमा भने तत्काल ठूलो नीतिगत परिवर्तन नदेखिएको उनीहरूको भनाइ छ। सरोकारवालाहरूले क्षेत्रीय बजार सन्तुलनलाई ध्यानमा राख्दै स्पष्ट र स्थिर कर नीति आवश्यक रहेको बताएका छन्।
