काठमाडौँ, जेठ ३ गते– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान चुनौतीप्रति गम्भीर हुन नेकपा एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३ औँ मदन–आश्रित स्मृति सभामा बोल्दै उहाँले पार्टीलाई आत्मसुधार, एकता र जनतासँगको सम्बन्ध सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै अब जनताको सेवाभावमा अझ केन्द्रित हुनुपर्ने बताउनुभयो। साथै सिद्धान्त र व्यवहारबीच कहिलेकाहीँ देखिने असन्तुलनले समाजमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्न सके मात्रै राजनीतिक दलको शक्ति बलियो हुने धारणा राख्नुभयो। उहाँका अनुसार जनताको विश्वास नै राजनीतिक शक्तिको सबैभन्दा ठूलो आधार हो, र पार्टी तथा जनता बीच दूरी बढेमा आन्दोलनको मर्म कमजोर हुन सक्छ।
उहाँले नेता–कार्यकर्तालाई जनताको बीचमा पुगेर उनीहरूको दुःख–सुखमा सहभागी हुन आग्रह गर्नुभयो। साथै समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माण गर्दै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
