काठमाडौं– सांसद ज्ञानेन्द्र शाहीले देशमा चर्चित बनेका ६५ वटा ठूला भ्रष्टाचार तथा अनियमितता सम्बन्धी काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सांसद शाहीले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, वाइडबडी विमान खरिद काण्डलगायतका चर्चित ६५ वटा घटनाको विस्तृत छानबिन हुनुपर्ने बताएका छन्। उनले यी सबै प्रकरणमा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।
शाहीले देशका ठूला भ्रष्टाचार काण्डहरूमा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी कारबाही गरिनेमा आफू आशावादी रहेको उल्लेख गरेका छन्। उनले सरकारले सुशासन कायम गर्न अब ठोस र कठोर कदम चाल्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
