काठमाडौं । नेपाल टेलिकम ले ताप्लेजुङको दुर्गम हिमाली बस्ती घुन्सामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा को काखमा रहेको घुन्सा गाउँमा बुधबारदेखि फोरजी सेवा सुरु गरेको हो।
फोरजी सेवा सञ्चालनमा आएपछि घुन्सा र फले क्षेत्रमा इन्टरनेट तथा टेलिफोन सेवाको पहुँच पुगेको छ। यसअघि सञ्चार सुविधाको अभाव झेलिरहेका फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका स्थानीय बासिन्दाले अब सहज रूपमा इन्टरनेट सेवा उपयोग गर्न पाउने भएका छन्।
नेपाल टेलिकमले घुन्सास्थित तीन हजार ८५० मिटर उचाइको डाँडामा फोरजी टावर स्थापना गरेको जनाएको छ। प्रतिकूल मौसमका बीच टावर निर्माण तथा प्रविधि जडानको काम सम्पन्न भएपछि सेवा सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवी मिङ्माडण्डु शेर्पाले जानकारी दिएका छन्।
स्थानीयका अनुसार फोरजी सेवाबाट घुन्सा र फले गाउँका बासिन्दासँगै कञ्चनजङ्घा क्षेत्र भ्रमणमा आउने पर्यटकसमेत लाभान्वित हुनेछन्। सेवा विस्तारसँगै विद्युतीय शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सञ्जाल, सूचना आदानप्रदान तथा मनोरञ्जनका माध्यममा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने घुन्सा गाउँ समुद्री सतहदेखि करिब तीन हजार ४७५ मिटर उचाइमा अवस्थित छ। हालसम्म सडक पहुँच नपुगेको यस हिमाली क्षेत्रमा फोरजी सेवा विस्तार भएपछि स्थानीय जीवनशैली र दैनिक गतिविधिमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।
