ढाका । बङ्गलादेशको आतङ्कवाद विरोधी प्रहरीले विमानस्थल, संसद् भवन तथा धार्मिक स्थलहरूलाई लक्षित गरी सम्भावित आक्रमणको चेतावनीपछि सञ्चालन गरिएको विशेष खोजतलासी अभियानका क्रममा एक पूर्व सैनिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति २३ वर्षीय मोहम्मद राहद हुसेन महेद हुन्। उनलाई भारतीय सीमासँग जोडिएको उत्तरपूर्वी जिल्ला मौलभीबजारमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो। स्थानीय प्रहरी चौकी प्रमुख मोहम्मद मोनिरुज्जमानले महेदमाथि अहिले गहन सोधपुछ भइरहेको जानकारी दिएका छन्।
बङ्गलादेश प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिमा महेद बर्खास्त सैनिक सदस्य रहेको र प्रतिबन्धित कट्टरपन्थी सङ्गठन ‘दौलतुल इस्लाम नियो–जेएमबी’को विचारधाराबाट प्रभावित रहेको उल्लेख गरिएको छ। प्रतिआतंकवाद अधिकारीहरूले उनी कट्टरपन्थी इस्लामिक समूहसँग आबद्ध रहेको आशंका गरेका छन्।
गत अप्रिलको अन्त्यमा सम्भावित आक्रमणको चेतावनी सार्वजनिक भएपछि ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलसहित संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो। त्यसयता सुरक्षा निकायले विभिन्न स्थानमा निगरानी तथा खोज अभियान सञ्चालन गर्दै आएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले धारिलो हतियार, बन्दुक वा विस्फोटक पदार्थ प्रयोग गरी विमानस्थल, संसद् भवन तथा धार्मिक स्थलहरूमा आक्रमण हुन सक्ने संकेत दिएका थिए।
बङ्गलादेशमा बेला–बेलामा अल–कायदा र इस्लामिक स्टेटबाट प्रेरित घरेलु अतिवादी समूहहरूको गतिविधि देखिने गरेको छ। सन् २०१६ मा ढाकाको एक बेकरीमा भएको भीषण आक्रमणमा २२ जनाको ज्यान गएको थियो।
त्यसै अवधिमा अल–कायदासँग सम्बन्धित लडाकुहरूले बङ्गलादेशी मूलका अमेरिकी लेखक अभिजित रोयसहित धर्मनिरपेक्ष लेखक तथा अभियन्तामाथि घातक आक्रमण गरेका थिए। सन् २०२१ मा एक धर्मनिरपेक्ष ब्लगरको हत्या अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो।
