काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको नाम, सचिवालय वा कार्यालयको परिचय दुरुपयोग गरी निजी स्वार्थपूर्ति गर्ने, धम्की दिने वा अनावश्यक दबाब सिर्जना गर्ने कार्यप्रति सचेत रहन सबैमा अपिल गरेको छ।
शनिबार कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिबारे भ्रममा नपर्न र तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानकारी गराउन आग्रह गर्नुभएको हो।
विज्ञप्तिमा भनिएको छ, “कुनै पनि व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिँदै फोनमार्फत वा भेटमा धाकधम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गरेमा तत्काल जानकारी गराउन अपिल गर्दछ।”
कार्यालयले यस्ता कार्यलाई गम्भीर रूपमा लिएको जनाएको छ। केही दिनअघि दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले प्रधानमन्त्री कार्यालयको नाम उल्लेख गर्दै धम्की दिएको अडिओ सार्वजनिक भएपछि यस विषयमा ध्यानाकर्षण भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त घटनामा संलग्न प्रकाश खड्कालाई कानुनी दायरामा ल्याउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई निर्देशन दिइसकेको पनि जनाएको छ।

