काठमाडौं, जेठ २ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संघीय सरकार, संसद र वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै सबै मन्त्रीहरूले राजीनामा दिएर मन्त्रालयहरू काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सुम्पिने अवस्था आउन सक्ने टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उहाँले संसदको भूमिकामाथि प्रश्न उठाउँदै सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभएको हो। उहाँले आगामी संसद बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग उठाइने उल्लेख गर्नुभयो।
साम्पाङले लेख्नुभएको छ, “कुन दिन सबै मन्त्रीहरूले राजीनामा दिएर सबै मन्त्रालयहरू बालेनलाई नै सुम्पने समय आउनेछ।” उहाँका अनुसार संसदलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ र जनप्रतिनिधिहरूले जिम्मेवार रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।
उहाँले पर्सी बस्ने संसद बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिने बताउँदै संसदप्रति हुने उपेक्षात्मक व्यवहार अस्वीकार्य हुने धारणा राख्नुभयो। “जसलाई जे भन्नु छ भन्न सक्छ, हाम्रो लाइन क्लियर छ,” उहाँको भनाइ छ।
साम्पाङले मेयर बालेन शाहको पछिल्ला गतिविधि र अभिव्यक्तिलाई लिएर उठिरहेका बहसप्रति पनि टिप्पणी गर्दै वर्तमान व्यवस्था नै अस्वीकार गर्ने संकेत हो कि भन्ने प्रश्न उठाउनुभएको छ। उहाँले राष्ट्रपति र संसदप्रति गरिएको व्यवहारबारे पनि चासो व्यक्त गर्नुभएको छ।
