काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन तथा प्रयोग सफल भएको छ। खेर गइरहेको विद्युत् र पानीको उपयोग गरी उत्पादन गरिएको ग्यासलाई सिलिण्डरमा भरेर चुलो बाल्ने परीक्षण सफल भएपछि व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको हो।
तीन वर्षअघि नमूना परियोजनाका रूपमा सुरु गरिएको अनुसन्धान त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा सम्पन्न गरिएको हो। बडिगाड–२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन हुने तर उपयोग नभई खेर गइरहेको विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो।
परियोजनाअन्तर्गत पानीबाट अक्सिजन छुट्याएर हाइड्रोजन मात्र संकलन गरी सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको नेपाल इनर्जी फाउण्डेसनले जनाएको छ। हालसम्म आठ वटा सिलिण्डरमा ग्यास भरेर परीक्षण सफल भइसकेको छ।
नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार सुरक्षित भण्डारण र सिलिण्डर प्रविधिमा मात्र १८ महिनाको अध्ययन गरिएको थियो। उनका अनुसार एक केजी हाइड्रोजन ग्यासले सामान्य परिवारलाई करिब एक सातासम्म खाना पकाउन पर्याप्त हुन्छ।
परियोजनामा नेपाल इनर्जी फाउण्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एसएण्डएओ कम्पनी लिमिटेड (यूके), एचएसएलयु स्विट्जरल्याण्ड, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बडिगाड गाउँपालिका र गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीलगायत संस्थाको सहकार्य रहेको छ।
शुक्रबार गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले परियोजनाको औपचारिक उद्घाटन गर्दै हरित हाइड्रोजन प्रविधिले वातावरण संरक्षण, विद्युत् उपयोग वृद्धि र स्वदेशी ऊर्जा प्रयोगमा नयाँ सम्भावना खोल्ने बताएका छन्।
गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीका अध्यक्ष बेलबहादुर थापाका अनुसार खेर गइरहेको विद्युत् उपयोग गरेर खाना पकाउने इन्धन उत्पादन गर्नु परियोजनाको मुख्य उपलब्धि हो। हालसम्म परियोजनामा करिब एक करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ।
स्थानीयवासीहरूले हाइड्रोजन ग्यासबाट खाना छिटो पाक्ने र स्वाद पनि राम्रो हुने अनुभव सुनाएका छन्। परियोजनाले सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका लागि थप अध्ययन गर्ने तयारी गरेको छ।
