काठमाडौं, जेठ २ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन्। चीनका राष्ट्रपति सी चिनफिङ सँग बेइजिङमा भएको दुई दिने शिखर सम्मेलनपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले “म कसैले स्वतन्त्रता घोषणा गरेको हेर्न चाहन्नँ” भन्दै ताइवानको औपचारिक स्वतन्त्रताको पक्षमा आफू नरहेको संकेत गरेका छन्। उनले चीनसँग तनाव नबढोस् भन्ने आफ्नो चाहना रहेको पनि बताएका छन्।
ताइवानका राष्ट्रपति लाइ चिङ–ते ले भने ताइवान पहिले नै व्यवहारिक रूपमा सार्वभौम रहेको बताउँदै औपचारिक स्वतन्त्रता घोषणा आवश्यक नरहेको अडान लिँदै आएका छन्। चीनले भने ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ र आवश्यक परे बल प्रयोगको विकल्पलाई अस्वीकार गरेको छैन।
ट्रम्पले अमेरिका र चीनबीच सम्भावित द्वन्द्वबारे टिप्पणी गर्दै लामो दूरीमा युद्ध लड्नुपर्ने अवस्था आफूले नचाहने बताए। उनले ताइवान विषयमा धेरै छलफल भए पनि अमेरिका प्रत्यक्ष रूपमा कुनै प्रतिबद्धता नगरेको स्पष्ट गरे।
यसैबीच ट्रम्पले सी चिनफिङले ताइवान मुद्दामा अत्यन्त संवेदनशीलता देखाएको र कुनै पनि स्वतन्त्रता आन्दोलन स्वीकार्य नहुने संकेत दिएको पनि उल्लेख गरेका छन्। यद्यपि, चीनसँग सम्भावित युद्ध हुने सम्भावनाबारे उनले “मलाई त्यस्तो लाग्दैन” भन्दै आशावादी टिप्पणी गरेका छन्।
