वीरगन्ज, जेठ २ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ। झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले मुद्दा दर्ता गरेको हो।
मुद्दामा नगर प्रमुख सिंहसहित रिता भट्टराई, रुविना श्रेष्ठ र वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी राय लाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार लिखत सम्बन्धी कसुरमा कारबाहीको माग गरिएको छ।
पर्सा जिल्ला अदालतका श्रेस्तेदारका अनुसार एउटै उजुरीका आधारमा थप तीन वटा मुद्दा पनि दर्ता भएका छन्। ती मुद्दामा नागरिकता तथा राहदानी बनाउने क्रममा झुटा विवरण पेस गरिएको आरोप लगाइएको छ।
सरकारी वकिलको कार्यालयले केही मुद्दामा ६ महिना कैद वा सुधार गृह सजाय, १५ हजार रुपैयाँ जरिवाना तथा अन्य मुद्दामा १ देखि ३ वर्षसम्म कैद र २ देखि ५ लाख रुपैयाँसम्म जरिवानाको माग गरेको छ।
आरोपअनुसार २०७१ सालमा झुटा विवरणका आधारमा जन्म दर्ता गरिएको र त्यसकै आधारमा पछि नागरिकता तथा राहदानी बनाइएको दाबी गरिएको छ। घटनाबारे अदालतमा थप सुनुवाइ र अनुसन्धान अघि बढ्ने बताइएको छ।
