काठमाडौं, जेठ २ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले वैदेशिक रोजगारी तथा उच्च शिक्षाका नाममा ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा एकैसाथ छापा मारेर ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार विदेश पढ्न पठाइदिने भन्दै नागरिकहरूबाट ठगी गरिएको उजुरीपछि शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा संयुक्त अनुगमन तथा कारबाही गरिएको हो। छानबिनका क्रममा धेरै संस्थाले कानुनी मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाइएको प्रहरीले जनाएको छ।
कारबाहीमा परेका संस्थाहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा उल्लेखित व्यवस्था उल्लङ्घन गरेको पाइएको छ। प्रहरीले दर्ता वा नवीकरण नगरी कन्सल्टेन्सी सञ्चालन गर्ने, सरकारी इजाजतबिना भाषा कक्षा तथा शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने र विदेश पठाइदिने प्रलोभन देखाएर आर्थिक ठगी गर्ने गतिविधि भएको जनाएको छ।
रामेश्वर कार्की का अनुसार पक्राउ परेका सञ्चालकहरूमाथि थप अनुसन्धान भइरहेको छ। साथै, यस्ता कन्सल्टेन्सीबाट ठगीमा परेका व्यक्तिहरूलाई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
