काठमाडौँ, जेठ २ । परराष्ट्रमन्त्री शिशिर खनाल ले विश्वव्यापी ऊर्जा तथा आपूर्ति प्रणालीमा देखिएको अवरोधले गरिबी निवारण र दिगो विकास लक्ष्य हासिल गर्न गम्भीर चुनौती उत्पन्न गरेको बताएका छन्।
संयुक्त राष्ट्रसंघ को मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले विश्वव्यापी शान्ति, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि कूटनीति र संवाद अपरिहार्य रहेको बताए। साथै, संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनमा आधारित बहुपक्षीय सहकार्यलाई अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू–राजनीतिक संकटका कारण नेपालजस्ता अल्पविकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशहरू बढी प्रभावित भएको उल्लेख गर्दै विश्व समुदायसँग विशेष सहयोगको आग्रह गरे। उनले उत्थानशील पूर्वाधार, नवीकरणीय ऊर्जा र दिगो आपूर्ति प्रणालीमा लगानी बढाउनुका साथै प्रविधि तथा प्राविधिक नवप्रवर्तनमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले कमजोर अर्थतन्त्र भएका राष्ट्रहरूका लागि सहुलियतपूर्ण वित्तीय सहायता, आपत्कालीन सहयोग तथा ऋण राहतका उपाय तत्काल सुनिश्चित गर्न पनि आग्रह गरे। परराष्ट्र मन्त्रालय का अनुसार मन्त्री खनालको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक अडान र विश्वव्यापी आर्थिक न्यायसम्बन्धी आवाजलाई थप सशक्त बनाएको छ।
