काठमाडौँ, जेठ २ । नेपाली काँग्रेस का संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा पर्याप्त छलफल गर्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्त्वपूर्ण दस्ताबेजमाथि विगतमा दुईदेखि तीन दिनसम्म बहस हुने परम्परा रहे पनि यसपटक केवल ६ घण्टामा सीमित गरिएको भन्दै आलोचना गरे।
आङदेम्बेले सरकारले नीति तथा कार्यक्रममा डिजिटलाइजेसन र प्रविधिको विषयलाई प्राथमिकतामा राखे पनि गाउँका गरिब किसान र मजदुरसम्म प्रविधिको पहुँच पुर्याउने स्पष्ट योजना नदेखिएको बताए। ‘नागरिक एप’ जस्ता डिजिटल सेवाको प्रभावकारी प्रयोगका लागि गुणस्तरीय मोबाइल र प्रविधिमा सर्वसाधारणको पहुँच आवश्यक रहे पनि त्यसबारे सरकार गम्भीर नदेखिएको उनको भनाइ थियो।
उनले सरकारका योजना मध्यम तथा उच्च वर्गकेन्द्रित देखिएको टिप्पणी गर्दै राज्यका नीति गरिब, किसान र मजदुर लक्षित हुनुपर्नेमा जोड दिए। डिजिटल सेवाको विस्तारसँगै आधारभूत प्रविधि गाउँसम्म कसरी पुर्याउने भन्ने विषयमा नीति तथा कार्यक्रममा स्पष्ट खाका नदेखिएको उनले बताए।
प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै आङदेम्बेले नेपाली काँग्रेस विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको बताए। राज्यको नियतमाथि शङ्का नगरे पनि कार्यशैली र प्राथमिकतामा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी बजेटमार्फत यस्ता कमजोरी सच्याउन सरकारलाई आग्रह गरे।
