वासिङ्टन, जेठ २ गते । लेबनानमा जारी द्वन्द्वका बीच इजरायल र लेबनान आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएका छन् । अमेरिकी विदेश विभागले वासिङ्टनमा भएको शान्ति वार्ता सकारात्मक भएको जनाएको हो ।
अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगट ले आगामी जुन २–३ मा राजनीतिक तहमा थप वार्ता हुने जानकारी दिनुभयो । साथै, मे २९ मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा “सुरक्षा ट्र्याक” अन्तर्गत इजरायल र लेबनानका अधिकारीबीच सुरक्षा सम्बन्धी छलफल हुने बताइएको छ ।
अमेरिकी पक्षका अनुसार वार्ताको उद्देश्य दुई देशबीच स्थायी शान्ति स्थापना गर्नु, एकअर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नु तथा साझा सीमामा सुरक्षा सुनिश्चित गर्नु रहेको छ ।
यसअघि शुक्रबार इजरायलले दक्षिण लेबनानमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएपछि युद्धविराम प्रयासलाई तीव्र बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणमा दुई हजार ९५१ जनाको ज्यान गएको छ ।
युद्धविराम प्रयास जारी रहेकै बेला हेजबुल्लाह ले दक्षिणी लेबनानस्थित इजरायली सैन्य लक्ष्यविरुद्ध १७ वटा सैन्य अपरेशन गरेको इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तीमध्ये आठ वटा ड्रोन आक्रमण, पाँच वटा रकेट तथा क्षेप्यास्त्र आक्रमण, एउटा तोप आक्रमण र एउटा निर्देशित क्षेप्यास्त्र प्रहार समावेश रहेको जनाइएको छ ।
यसैबीच इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दक्षिणी लेबनानमा हवाई लक्ष्य पहिचान भएपछि इन्टरसेप्टर प्रक्षेपण गरिएको जनाएको छ ।
