बागलुङ । कुनै समय एक सामुदायिक होटलको भरमा सीमित ढोरपाटनको पर्यटन व्यवसाय अहिले उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ । पछिल्ला वर्षहरूमा पर्यटक आगमन बढेसँगै होटल, गेष्टहाउस र सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्नेक्रम तीव्र बनेको छ ।
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रका रूपमा परिचित ढोरपाटन शिकार आरक्षमा हाल निजी क्षेत्रको लगानी पनि बढ्दै गएको छ । आरक्ष कार्यालयका अनुसार ढोरपाटन क्षेत्रमा ३९ वटा निजी होटल, होमस्टे तथा गेष्टहाउस सञ्चालनमा छन्, जसमा करिब २४० कोठाको क्षमता रहेको छ ।
स्थानीय समुदायले घरबासलाई आम्दानीको प्रमुख स्रोतका रूपमा प्रयोग गर्न थालेका छन् । पाखाथर सामुदायिक घरबासका अध्यक्ष पुनम बुढामगरका अनुसार त्यहाँ मात्रै १० वटा घरबास सञ्चालनमा छन्, जसले एकै रातमा करिब २०० पाहुना राख्न सक्ने क्षमता बनाएको छ । उनका अनुसार यसले गाउँमा महिलाको आर्थिक सशक्तीकरणसमेत बढाएको छ ।
ढोरपाटन नगरपालिका क्षेत्रका तल्लोचौर, पाखाथर, स्यालपाखे, एयरपोर्ट, बिजोरीखोला, माझचौर, उत्तरगङ्गा लगायतका क्षेत्रमा होटल तथा होमस्टे विस्तार भएका छन् । गत वर्ष मात्रै ढोरपाटन क्षेत्रमा २३ हजारभन्दा बढी पर्यटक आएको तथ्याङ्क छ ।
स्थानीय व्यवसायीका अनुसार सडक पहुँच विस्तार, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र आन्तरिक पर्यटनको वृद्धिले पर्यटक आगमन बढाएको हो । विशेषगरी नयाँ वर्ष, दसैँ–तिहार र हिउँदको मौसममा यहाँ पर्यटकको चहलपहल उच्च हुने गरेको छ ।
पर्यटन विस्तारसँगै स्थानीयको आयआर्जनमा सुधार भएको छ भने कृषि उत्पादनले पनि बजार पाउन थालेको छ । व्यवसायीहरूले पूर्वाधार सुधार, सडक स्तरोन्नति, खानेपानी र सञ्चार सेवामा थप सुधार भए ढोरपाटन अझ ठूलो पर्यटन गन्तव्य बन्न सक्ने बताएका छन् ।
