काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको ३४औँ बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ स्वीकृत गरेको छ । कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट देशभर करिब ५१ हजार ६ सय ६८ घरधुरीका दुई लाख २६ हजार ६ सय ६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
प्राधिकरणका सहसचिव अमृत श्रेष्ठका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै सरकारी निकाय तथा सम्बन्धित क्लस्टरहरूलाई तयारी अवस्थामा रहने गरी जिम्मेवारी तोकिएको छ ।
बैठकले ‘खोज तथा उद्धार गठन तथा परिचालन सम्बन्धी मापदण्ड’ र ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि’लाई परिमार्जनसहित स्वीकृत गरेको छ । विपद्का बेला हुने क्षति न्यूनीकरणका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य ढाँचालाई समेत प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।
सहसचिव श्रेष्ठका अनुसार उक्त ढाँचाले विपद् आउनुअघि नै आवश्यक तयारी गर्न सहयोग पुर्याउने, प्रतिकार्य खर्च घटाउने तथा मानवीय क्षति कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
बैठकले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि २०८१ संशोधन गर्ने निर्णय पनि गरेको छ । यसले सुस्त रहेको पुनर्निर्माण कार्यलाई तीव्रता दिने विश्वास गरिएको छ । साथै विपद् प्रभावितहरूको हवाई उद्धारमा भएको खर्चलाई समेत अनुमोदन गरिएको छ ।
त्यसैगरी जिल्लास्थित भूकम्प पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन कार्यालयहरूमा देखिएको जनशक्ति अभाव समाधान गर्न सम्बन्धित विषयगत निकायबाट कर्मचारी परिचालन गर्ने निर्णय भएको छ । तत्कालका लागि शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आवश्यक जनशक्ति व्यवस्थापन गरिने बताइएको छ ।
