काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका कारण डेढ खर्ब रुपैयाँभन्दा बढीको लेखापरीक्षण प्रभावित भएको छ । महालेखा परीक्षक तोयम रायाका अनुसार आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका कागजात जलेपछि ठूलो परिमाणको वित्तीय परीक्षण प्रभावित भएको हो ।
महालेखापरीक्षकको कार्यालयका अनुसार चालु वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था तथा संघीय कानुनद्वारा तोकिएका अन्य संस्था र समितिसमेत गरी कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छ ।
महालेखा परीक्षक रायाले १७९ वटा कार्यालयका कागजात नष्ट हुँदा एक खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखापरीक्षण प्रभावित भएको जानकारी दिए । कागजात अभावका कारण ती निकायको पूर्ण परीक्षण गर्न कठिनाइ भएको उल्लेख गरिएको छ ।
यस वर्ष संघीय निकायतर्फ ५३ अर्ब ४९ करोड रुपैयाँ, प्रदेशतर्फ पाँच अर्ब २३ करोड रुपैयाँ र स्थानीय तहतर्फ १९ अर्ब पाँच करोड रुपैयाँ बेरुजु कायम भएको छ । त्यस्तै समिति तथा अन्य संस्थातर्फ १० अर्ब ३२ करोड रुपैयाँ बराबरको बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाको प्रतिवेदनअनुसार कुल बेरुजु रकम सात खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यद्यपि एक वर्षको अवधिमा १४ अर्ब ६३ करोड रुपैयाँ असुल भएको भन्दै महालेखा परीक्षक रायाले यसलाई उत्साहजनक प्रगति भएको बताएका छन् ।
