काठमाडाैँ । निर्माण व्यवसायीहरूले अत्यधिक मूल्यवृद्धिका कारण देशभरका विकास आयोजना प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । निर्माण व्यवसायी महासंघले शुक्रबार एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको हो ।
महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई ज्ञापनपत्र बुझाउँदै निर्माण क्षेत्र ‘होलिडे’को अवस्थामा पुगेको जनाएको छ ।
अध्यक्ष पाण्डेका अनुसार इन्धनको मूल्यवृद्धिसँगै सिमेन्ट, डण्डी, बालुवा लगायत निर्माण सामग्रीको मूल्य आकासिएको छ । बिटुमिन अभावका कारण पनि सडक तथा अन्य पूर्वाधार निर्माणमा प्रत्यक्ष असर परेको उनले बताए ।
महासंघले बढेको बजार मूल्यअनुसार ठेक्काको रकम समायोजन गर्नुपर्ने, रोकिएका आयोजनाको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण बनाउनुपर्ने तथा आगामी बजेटमा स्पष्ट बजेट शीर्षक र भुक्तानी सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी आन्दोलनकै क्रममा निर्माण व्यवसायीमाथि भइरहेको धरपकडप्रति पनि महासंघले आपत्ति जनाएको छ । अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रिने अध्यक्ष पाण्डेको भनाइ छ ।
महासंघले सरकारले तत्काल मूल्य समायोजन निर्देशिका ल्याई मूल्यवृद्धिबाट परेको असरमा सहुलियत दिनुपर्ने माग गर्दै माग सम्बोधन नभएसम्म निर्माण कार्य सहज रूपमा अघि बढाउन नसकिने चेतावनी दिएको छ ।
